सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। केही गम्भीर घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका-११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किंदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए।

रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो। बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ।