उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिका-१ को कोलबोटेमा गएको पहिरोले २ घरमा क्षति पुगेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार पहिरोले सन्तोष राई र मनीकुमार राईको घरमा क्षति पुगेको तर घटनामा मानवीय क्षति भएको छैन।
इलाम, पाँचथर र धनकुटासँग सीमाना जोडिएको उक्त पहाडी क्षेत्रमा गएको पहिरोले रमितेबाट कोलबोटे जाने सडक अवरुद्ध भएको वडा सदस्य टंक राईले बताए। पहिरोले विद्युत् पोल बगाउँदा उक्त स्थानमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ।
त्यसैगरी, नुनसरी खोलाको बाढी बस्तीमा पस्दा मिक्लाजुङ-६ को भण्डारी चोकका आधा दर्जन घर डुबानमा परेका छन्। स्थानीय बक्राह र नुनसरी खोलाको बाढी बस्तीमा छिर्दा मिक्लाजुङको मधुमल्ला बजार हरेक वर्ष डुबानको चपेटामा पर्दै आएको छ।