युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउटले आफूलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने बेला भएको बताएका छन्।
बुधबार ७३ औँ स्थापना दिवसको अवसरमा काठमाडौँको लैनचौरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले स्काउटले आफ्नो स्थापनाको उद्देश्य र जरा नविर्सिकन समय सापेक्ष भई अघि बढ्नुपर्ने सुझाव दिए। उनले डिजिटल स्काउटिङको आवश्यकता औँल्याउँदै त्यसतर्फ ध्यानाकर्षण गराए।
कार्यक्रममा शुभकामना दिँदै मन्त्री श्रेष्ठले भने, ‘स्काउट अब समय सापेक्ष हुनुपर्छ। त्यो भनेको २१ औँ शताब्दिमा धेरै जसो संस्थाहरू समय सापेक्ष बन्न खोज्ने क्रममा आफू को हो र के का लागि स्थापना गरेको भन्ने नै बिर्सने बानी छ यहाँ। तर नेपाल स्काउटले २१ औँ शताब्दि सापेक्ष हुने आफ्नो जरा, माटोलाई नबिर्सिकन मूल्य मान्यता अगाडि बढाउनु पर्छ।’
यस्तै, स्काउटले आफ्नो कार्य र जिम्मेवारी राम्रोसँग निर्वाह गर्दै आइरहेको चर्चा गर्दै उनले ‘वारियर अफ् द नेचर’ र ‘प्रोटेक्टर अफ द कल्चर’को टाइटल दिनुपर्ने बताए। उनले त्यो सँगै सापेक्ष स्काउट बनाउनका लागि स्काउटको डिजिटल रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
‘सबै कुरा डिजिटलमा सिफ्ट हुँदै जाँदा सामाजिक गतिविधि पनि त्यहाँ हुने भएकाले डिजिटल स्काउटिङ आजको आवश्यकता हो। यसमा गम्भीर हुन आग्रह गर्छु,’ मन्त्री श्रेष्ठले भने। मन्त्री श्रेष्ठले सामाजिक, सांस्कृतिक पक्षको कार्यसँगै विश्वव्यापी चुनौतीको रुपमा आएको मानसिक स्वास्थ्यको मुद्दामा समेत स्काउटले काम गर्नुपर्नेमा जोड दिए।