सत्तारुढ दल नेकपा एमालेले दुग्ध पदार्थ उत्पादक किसानलाई निजी र सरकारी निकायले तिर्न बाँकी बक्यौता दिने वातावरण तत्काल बनाउन माग गरेको छ।
बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले प्रहरीले दुग्ध किसानमाथि आज गरेको व्यवहार अमर्यादित भएको बताए। उनले किसानहरूले भुक्तानी नपाउँदा उनीहरू पीडित बनेको बताए।
बिहानै पक्राउ परेका किसानलाई भेटेर आएको उल्लेख गर्दै प्रमुख सचेतक बर्तौलाले किसानको भुक्तानी दिन बाँकी बक्यौता तत्काल तिर्ने वातावरण बनाउन अर्थ मन्त्रालय, कृषि मन्त्रालय र प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराउँदै किसानहरूले भुक्तानी नपाउँदा उनीहरू पीडित बनेकाले भुक्तानीका लागि माग गरे।
निजी र सरकारी पक्षबाट दुग्ध किसानको बाँकी बक्यौता भुक्तानी हुनुपर्नेलगायतका माग सहित पीडित किसानहरू आजदेखि काठमाडौँमा आन्दोलनमा छन्। सरकारले पटक–पटक किसानसँग गरेको सम्झौता–सहमति कार्यान्वयन नगर्दा किसान मर्कामा परेका छन्।