मोरङको बेलबारी नगरपालिका डाँगीहाटस्थित आरजु राइस मिलले बजार मूल्यभन्दा प्रतिमन थप १ सय रुपैयाँ बढाएर किसानहरूसँग धमाधम चैते धान खरिद गरिरहेको छ।
स्थानीय व्यापारीले मूल्य घटाउन चैते धान खरिद ठप्प पारिरहेका बेला आरजु राइस मिलले किसानलाई राहत हुने गरी बजार मूल्यभन्दा बढीमा खरिद गर्न थालेको हो।
आरजु राइस मिलका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले स्थानीय व्यापारीले चैत धानको मूल्य घटाउन खरिद ठप्प पारिरहेका बेला आफ्नो उद्योगले बजार मूल्यभन्दा बढीमा किसानसँग खरिद गरिरहेको बताए।
एकातर्फ वर्षेनि धान चामल आयात भइरहने र अर्कातर्फ किसानले उचित मूल्य तथा बजार नपाएर धानै कुहिने अवस्थामा आएपछि आरजु राइस मिलले किसानलाई लाभ हुने गरी मूल्य तोकेको बस्नेतले जानकारी दिए।
स्थानीय व्यापारीहरू मूल्य तल झार्न धान खरिद ठप्प पारेर बसेको आरजु राइस मिलले जनाएको छ। सोहीकारण एक साताभित्रै धानको मूल्य प्रतिमन ३ सय रुपैयाँ घटाइएको छ। चैते धानमा चिस्यान बढी हुने र वर्षा मौसमका कारण भण्डारण गर्न नमिल्ने हुँदा किसानलाई थप मर्का पर्छ।
सरकारले १८ प्रतिशत चिस्यानको मात्रामा चैते धानको मूल्य प्रतिक्विन्टल २ हजार ५ सय तोकेको छ। आरजु राइस मिलले चिस्यानको २५ प्रतिशत नै कायम गरी सोही मूल्य कायम गरेको जनाएको छ।