अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पुनः उकालो लागेको छ। दुई सातामा प्रतिब्यारेल औसत १० प्रतिशतले कच्चा तेलको भाउ बढेको छ।

जेठ २२ गते प्रतिब्यारेल ७७.५२ डलर रहेको ब्रेन्ट कच्चा तेलको भाउ हाल ८१ डलर नाघेको छ। सोही अवधिमा डब्लूटीआई कच्चा तेलको भाउ ७३.२५ बाट ८१.५ डलर पुगेको छ। दुई साताको अवधिमा मुर्बान तेलको भाउ प्रतिब्यारेल ७८.०६ बाट ८४.६ डलर कायम भएको छ।

अमेरिकाले मौज्दात केही बढाउन थालेसँगै मूल्य वृद्धिमा टेवा पुगेको हो। अमेरिकी पेट्रोलियम इन्स्टिच्युट (एपीआई)को तथ्यांकअनुसार एक सातामा अमेरिकी मौज्दात २२ लाख ब्यारेल बढेको छ। जसले गर्दा कच्चा तेलको भाउ बढ्न पुगेको छ। त्यस्तै ओपेक प्लसले यो वर्षको अन्त्यतिर तेलको उत्पादन थप कटौती गर्ने संकेत गर्नुले पनि मूल्य बढाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनले नेपालमा पनि असर पार्दछ। कच्चा तेलको मूल्य घट्दा भारतीय आयल कर्पोरेसनले नेपाललाई दिने तेलको मूल्य पनि घट्न जान्छ। परिवर्तन भएको मूल्यअनुसार नेपाल आयल निगमले १५–१५ दिनमा नयाँ मूल्य तय गर्दै आएको छ।