कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोडको बजेट प्रस्तुत गरेको छ ।
आज आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले चालु आर्थिक वर्षको भन्दा एक अर्ब कमको बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् । चालू आर्थिक वर्षका लागि कोशी सरकारले ३६ अर्ब ७४ करोडको बजेट ल्याएको थियो । प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ करोड ३० लाख र पुँजीगत तर्फ १६ अर्ब २० करोड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ करोडको बजेट विनियोजन गरेको छ ।
बजेटको स्रोततर्फ आन्तरिक आम्दानी ४ अर्ब ९८ करोड अनुमान गरिएको छ भने बाँकी रकम संघीय सरकारको अनुदान हो । आगामी आर्थिक वर्षको बजेटमार्फत कोशी सरकारले कृषि उत्पादकत्व वृद्धि गर्ने, भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र गरिबी निवारणलाई प्राथमिकतामा राखेको छ । कृषिमा व्यवसायिकरणका लागि कृषि ऋणको व्याजमा सहुलियत दिने व्यवस्था बजेटमा गरिएको छ ।
बहुबर्षीय तथा नयाँ भौतिक पूर्वाधार विकासका लागि सरकारले १० अर्ब ५१ बजेट विनियोजन गरेको छ । भूमिगत सिँचाइका लागि सरकारले २० करोड रुपैयाँ विनियोजन गरेको छ । विद्युतीय चार्जिङ स्टेसनका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले एक घर एक धाराको योजना पनि अघि सारेको छ । जसका लागि एक अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ । प्रदेशका सबै अस्पतालबाट विशेषज्ञ सेवा दिन ६ करोड रुपैयाँ विनियोजन भएको छ । बालबालिकाको उपचारका लागि सरकारले प्रदेश मातहतका अस्पतालमा मात्रै सेवा प्रवाह गर्ने घोषणा गरेको छ । यसअघि केदार कार्कीले चालु आर्थिक वर्षका लागि १० वर्ष मुनिका बालबालिकाको उपचार निशुल्क गर्ने घोषणा गरेका थिए । स्वास्थ्य क्षेत्रमा सरकारले ३ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले सामाजिक क्षेत्रको विकासका लागि १ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ ।