मोरङको बेलबारी स्थित बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित कार्यसमिति सदस्यहरूको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । आज शुक्रवार बिहान बेतना सिमसारको सभा हलमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच शपथ ग्रहण र पदस्थापनसँगै प्रमाणपत्र वितरण समेत गरिएको हो । 


नव निर्वाचित अध्यक्ष शम्भु भट्टराईलाई निर्वाचन संयोजक लिला प्रसाद आचार्यले शपथ गराएका हुन भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष भट्टराईले पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा कोसी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुबेदीले निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरे । त्यसलगत्तै वनका निवर्तमान अध्यक्ष डम्बर बस्नेतले नवनिर्वाचित अध्यक्ष भट्टराईलाई पदस्थापन  गराए । कार्यसमितिका अन्य सदस्यहरूको पनि आजै पदस्थापन भएको हो ।

कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले बेतना सिमसार विवादमा पर्नु, समस्या ग्रस्त हुनुमा राजनीतिक दलकोसमेत भूमिका रहेको जिकिर गर्दै नयाँ कार्यसमितिले यसबाट सिकेर अघि बढ्नुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा कोसी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले बेतना सिमसारको विषयमा बाहिर गएर बोल्न असहज भएको स्मरण गर्दै लामो समयको विवाद र झमेला पछि समस्या समाधान भएको बताएका छन् । उनले आजबाट बेतनाका बारेमा खुलेर बोल्ने वातावरण सिर्जना भएको जिकिर गरे ।

B02

गत मंगलवार सम्पन्न निर्वाचनमा नव निर्वाचित अध्यक्ष भट्टराईले १९६ मत पाउँदा उनका प्रतिद्वन्द्वी पर्वत राई ११३ मतमा सीमित भएका थिए । मतदानमा ४०१ मध्ये ३१८ मत खसेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नव नियुक्त अध्यक्ष शम्भु भट्टराईले आफूलाई उपभोक्ताहरुले दिएको मतको कदर गर्ने विश्वास व्यक्त गरे । उनले आफ्नो कार्यकालमा हिजो भएका गल्ती नदोहोर्‍याउने वाचासमेत गरे । 

निर्वाचनबाट सचिवमा सुजित बस्नेत, खुल्ला सदस्य पदमा जीवन कुमार राई, दिलबहादुर श्रेष्ठ, सुजित कुमार राई, बलराम शंकर, गोपाल तामाङ त्यस्तै महिला सदस्य पदमा रमिला राई, विन्दु कटुवाल क्षेत्री, अर कुमारी घिमिरे, लक्ष्मी अर्याल, मनिता लिम्बू निर्वाचित भएका थिए ।

B03

त्यस्तै लेखा समिति संयोजकमा हरि प्रसाद सुवेदी निर्वाचित भएका थिए । सिमसारको उपाध्यक्षमा रिता कोइराला, सहसचिवमा राजन प्रसाईँ, कोषाध्यक्षमा विन्दु कला गुरुङ सर्वसम्मत चयन भएका हुन् । 

कार्यक्रममा कोसी प्रदेश सभा सदस्यद्वय मानबहादुर लिम्बु र ज्ञानेन्द्र सुवेदी  बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा कोइराला, वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र लिम्बु, ३  का योगेन्द्र सुवेदी, ९ का शालिग्राम बस्नेत, प्रमुख राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।