ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकाहरुलाई प्रहरीले स्वय‌सेवकका रुपमा सडकमा सवारी व्यवस्थापनमा खटाउन थालेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि सचेतना कक्षा लिनुपर्ने किसिमका कारबाहीमा परेकाहरुलाई एक घण्टा ट्राफिक स्वयंसेवकको रुपमा खटाउन थालेको एसएसपी जीवन श्रेष्ठले बताए।

‘गृह मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार आजबाटै कार्यान्वयनमा गइसकेका छौं, बिहान ९ बजेदेखि ५ बजेसम्म उहाँहरुले सडकमा ट्राफिक व्यवस्थापन गर्नुहुनेछ’, श्रेष्ठले भने, ‘सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोक लगायतमा उहाँहरु खटिनुभएको छ।’

बुधबार मात्र ६०४ जनाले उपत्यकाका विभिन्न चोकमा स्वयंसेवकका रुपमा ट्राफिक व्यवस्थापन गरेका छन्। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार फेसबुकमा स्ट्याटस लेखेर महिनावारीको समयमा चार दिन महिला ट्राफिक प्रहरीले काम गर्नुनपर्ने घोषणा गरेका थिए। त्यसको साटो मापसे लगायतका कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवकको रुपमा खटाइने उनले बताएका थिए।