नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भू–भागमा बंगालको खाडीबाट उत्पन्न ‘रेमल’ चक्रवातको आंशिक प्रभाव देखिन थालेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा साधारणतया बदली रहि देशका पहाडी भु-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
रेमल चक्रवातको अप्रयक्ष प्रभावले कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा साथै बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ।
कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राती कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।