वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा आफूले दिएको अभिव्यक्ति प्रति माफी मागेका छन्। आफूहरूले दिएको अभिव्यक्ति भुलवश भएको भन्दै मह जोडीले माफी मागेका हुन्।

अस्ट्रेलिया भ्रमणका विषयमा कुपन्डोलस्थित ब्रिक्स क्याफेमा बसेर आफूहरूले कुराकानी गरिरहेका बेला सम्पादकहरूबीच सिरोहियाबारे छलफल भइरहेको र अचानक बोल्दा कमजोरी भएको मदनकृष्णले उल्लेख गरेका छन्। तयारी नगरी बोल्नु नै कमजोरी भएको उनको भनाइ छ।

अदालतमा विचाराधीन विषयमा आफूहरूले टिप्पणी नगरेको भए हुने भन्दै हरिवंशले माफी मागेका छन्। “अदालतमा विचाराधीन विषयमा नबोलेको भए पनि हुन्थ्यो। हामीबाट त्रुटि भयो। यत्रो वर्ष हामीलाई आफ्नै सम्झिएर माया गरिदिनुभयो, योपटक पनि यो सबै कुरा बिर्सिएर हामीलाई सम्झिएर माफी गरिदिनुहोला,” हरिवंशले भनेका छन्।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रेसका तर्फबाट कान्तिपुर मिडियाले ठूलो योगदान पुर्‍याएको भन्दै उनीहरूले अध्यक्ष सिरोहियालाई अदालतले न्याय दिने सञ्चारमाध्यमसँग बताएका थिए। सोही विषयमा सामाजिक सञ्जालमा आलोचना गरिएपछि उनीहरूले माफी मागेका छन्।