सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्षविहीन भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गरेका थिए। तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु उठेका छन्।

प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेपाली कांग्रेसका नेताहरुले पनि आजै दिउँसो पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्नेछन्।

प्रधानमन्त्रीसँगको छलफलमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन आज सभापति लगायतका नेताहरुसँग छलफल गर्ने जानकारी दिए।

कांग्रेसका सहमहामन्त्री जीवन परियारले आफूहरुले सहकारी ठगी प्रकरणको विषयमा पूर्ववत अडान कायम राखेको जानकारी दिए। ‘प्रधानमन्त्रीको पहलकदमी उपयुक्त छ। तर समग्र सत्तापक्षको समस्या समाधान गर्नेभन्दा अल्झाउने खालको छ। यसमा हामी सशंकित छौं’ सांसद परियारले भने।

प्रधानमन्त्री प्रचण्डले प्रयास जारी राखेकाले मंगलबार बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति हुन सक्ने विश्वास पनि उनले व्यक्त गरे।