मोरङको उर्लाबारी नगरपालिका—३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई भद्रपुरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति ३६ वर्षीय सुमन श्रेष्ठ र मंगलबारे युवा क्लबका अध्यक्ष ४६ वर्षीय पिपलराज गिरी रहेका छन्। प्रहरीले श्रेष्ठ र गिरीलाई भद्रपुर ४ बाट बिहीबार पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। चिकित्सक कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा तीन जनाविरुद्ध उजुरी दर्ता भएको छ। घटनामा संलग्न अर्का एक जना सानु रोक्का फरार छन्।

उनीहरुले अस्पतालमा कार्यरत मेडिकल अधिकृत मोरङ पथरी शनिश्चरे नगरपालिका—१ का २५ वर्षीय डा. ब्रोमिस बुढाथोकीलाई कुटपिट गरेको आरोप छ। ३ जेठमा दिउँसो खाजा खाएर फर्किने क्रममा डा. बुढाथोकीमाथि सुमन श्रेष्ठ, पिपलराज गिरी र सानु रोक्काको समूहले आक्रमण गरेको बताइएको छ। उनीहरुले डा। बुढाथोकीमाथि पुरानो रिसिइबीलाई लिएर आक्रमण गरेको जाहेरीमा उल्लेख गरिएको छ।