झापामा अत्यधिक गर्मीका कारण दुईजनाको मृत्यु भएको छ। मेचीनगरमा सडकमा हिँड्दाहिँड्दै एक जना पैदल यात्रीको मृत्यु भएको छ।

शुक्रबार अपराह्न ५ः३० बजेतिर मेचीनगर–९ का ७४ वर्षका नरबहादुर श्रेष्ठ मेचीनगरको धुलाबारीस्थित टिमाई पुल छेउमा लडिरहेको अवस्थामा भेटिएका थिए।

उनलाई स्थानीयले अचेत अवस्थामा देखेर उपचारका लागि मेची आम्दा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।स्थानीयका अनुसार अत्यधिक गर्मीका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

त्यस्तै, शुक्रबार अपराह्न बुद्धशान्तिको जयपुरमा एक बेवारिसे शव फेला परेको छ। मागिखाई हिँड्ने अन्दाजी ६०–६५ वर्षका पुरुष बाटोको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। गर्मीका कारण उनी पनि ढलेको हुनसक्ने आशङ्का गरिएको छ। हिजो झापामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो।