बेलबारी : मोरङको बेलबारी नगरपालिका ११, लक्ष्मीमार्गस्थित लक्ष्मी माध्यमिक विद्यालयमा मातृभाषा पुस्तकालयको उद्घाटन सम्पन्न भएको छ । विभिन्न दाताहरूबाट सहयोग सङ्कलन गरी स्थापना गरिएको पुस्तकालयमा तत्कालका लागि बान्तवा राई भाषाका पुस्तकहरू राखिएको र आगामी दिनमा अन्य भाषाका पुस्तकहरू पनि राखिने विद्यालयले जनाएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले पुस्तकालयको स्थायित्वको कामना गर्दै शिक्षालयले सबै किसिमको शिक्षा दिन सक्नुपर्ने बताए । दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्या समाधान गर्न सक्षम हुनेगरी जीवनोपयोगी शिक्षा दिइनुपर्ने बताउँदै उनले शिक्षामा सबै भाषा र संस्कृति प्रतिबिम्बित हुनुपर्ने उल्लेख गरे ।
lx01भारतीय उपमहाद्विपमा उत्पत्ति भएको संस्कृत भाषामा सबै विषयका ज्ञान भएपनि सो भाषाको दैनिक जीवनमा व्यावहारिक प्रयोग गर्न तदारुकता नदेखाउँदा महत्वपूर्ण ज्ञानको प्रयोग गर्नबाट बञ्चित हुनु परेको दृष्टान्त दिँदै नगरप्रमुख राईले भाषा लोप हुँदा सभ्यता नै लोप हुने खतरा हुने भएकाले भाषा तथा संस्कृतिको संरक्षणमा तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
सम्बोधनकै क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द भण्डारीले पुस्तकालयमा नेपालका सबै भाषाका पुस्तक राख्नुका साथै सबै जातजातिका सांस्कृतिक पहिचान झल्कने सामग्री राखेर सङ्ग्रहालयमा परिणत गरिने जानकारी दिए । विद्यालयको आर्थिक अवस्था कमजोर रहेकाले सङ्ग्रहालय निर्माणका लागि जातीय पहिचान झल्कने सामग्री तथा स्रोतसाधन उपलब्ध गराइदिन उनले दाताहरूमा अपिलसमेत गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष भण्डारीकै सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाकी शिक्षा शाखा प्रमुख एलिना बस्नेत, बेलबारी वडा नम्बर ११ का वडाध्यक्ष विक्रम बान्तवा राई, वडा नम्बर ९ का वडाध्यक्ष शालीग्राम बस्नेत, विद्यायको शिक्षक अभिभावक सङ्घका अध्यक्ष शिवकुमार राई, वडा नम्बर ११ का टोल विकास समिति अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो ।