प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएकोबारे कुरा उठेको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सह-महामन्त्री तथा सांसद बद्री पाण्डेले सिरोहियाविरुद्धको पक्राउ पुर्जीबारे कुरा उठाएका हुन्।

उनले राज्यका हरेक नागरिकलाई कानुनी दायरामा ल्याउन पाइने भए पनि आग्रह-पूर्वाग्रह राखेर कसैमाथि कारबाही गर्न नपाइने बताए।

‘कानुनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउन पर्छ। तर, आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन। कसैलाई पनि सहन चाँहदैनौँ,’ पाण्डेले भने।

सिरोहियाविरुद्ध मंगलबार मात्रै धनुषा जिल्ला अदालतले दोहोरो नागरिकता प्रकरणमा पक्राउका लागि प्रहरीलाई अनुमति दिएको छ।