नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१औँ स्मृति दिवसका अवसरमा आज बल्खुस्थित मदननगरमा उहाँहरुको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि व्यक्त गरिएको छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र  विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलगायत नेताहरूले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो।

वि.सं.२०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परी पार्टीका तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो। जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ।