अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार, सोलार प्यानल, स्टिल र अन्य उत्पादनमा करवृद्धि गरेका छन्। ह्वाइट हाउसले पछिल्लो परिवर्तनमा चिनियाँ विद्युतीय कारमा शतप्रतिशत भन्सार शुल्क पनि समावेश गरेको जनाएको हो।

ह्वाइट हाउसले अनुचित नीतिका कारण र अमेरिकामा रोजगारी जोगाउने उद्देश्यले यो वृद्धि गरिएको जनाएको छ। चीनले यो वृद्धिको विरोध गरेको र छिट्टै प्रतिकारात्मक कारबाही गर्ने बताएको छ। विश्लेषकहरू यी शुल्कहरू धेरै हदसम्म प्रतीकात्मक रहेको र यो चुनावी वर्षमा भोट कमाउने उद्देश्यले लागू गरिएको बताउँछन्।

ह्वाइट हाउसले मंगलबार घोषणा गरेको करले करिब १८ अर्ब डलरको आयातलाई असर गर्ने बताइको छ। विद्युतीय सवारी साधनको महसुल २५ प्रतिशतबाट शतप्रतिशत पुर्‍याइएको छ। जबकि सोलार सेलमा २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याइएको छ।

त्यसै गरी केही स्टिल तथा आल्मुनियमका उत्पादनको महसुल दर ७.५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याएको छ।

जवाफमा, चीनको वाणिज्य मन्त्रालयले नयाँ कदमले ‘द्विपक्षीय सहयोगको वातावरणलाई गम्भीर रूपमा असर गर्ने’ बताएको छ। मन्त्रालयले यसलाई आर्थिक मामिलामा राजनीतिकरण भनेको छ।