बागलुङको क्षेत्र नं २ मा पर्ने हरिचौर–मल्म–पाण्डवखानी सडक निर्माणमा ढिलाइ भएको छ। एउटै समयमा ठेक्का सम्झौता भएको बागलुङ बजार अदालत चौपारी–सिगाना–चापाखर्क–गाजाको दहहुँदै बरेङ शान्तिपुर सडकको बोक्से–सिगाना खण्डमा भने ५० प्रतिशतभन्दा बढी काम भइसकेको छ।
सडक निर्माणको सम्झौता गरेको दुई वर्ष पुग्न लाग्दा हरिचौर–मल्म–पाण्डवखानी सडकको भौतिक प्रगति जम्मा २५ प्रतिशत मात्रै भएको छ। सडक निर्माणको जिम्मा पाएको वल्र्डवाईड/लोपूर्ण जेबी निर्माण कम्पनीले सडक निर्माणको कामलाई तीव्रता दिन नसक्दा समयसीमाभित्रै काम सकिनेमा स्थानीयवासी ढुक्क छैनन्। कामलाई निरन्तरता दिइए पनि गति सुस्त रहेको गलकोट नगरपालिका–७ का वडाध्यक्ष राज थापाले बताउनुभयो।
“दुई वर्षमा सडक स्तरोन्नतिको काम सम्पन्न हुनुपर्ने थियो, अहिलेसम्म तीन किलोमिटर सडक मात्र स्तरोन्नति गरिएको छ”, उहाँले भन्नुभयो। एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तरगत बागलुङ, म्याग्दी र मुस्ताङमा सञ्चालित चार ठूला सडकमध्ये सबैभन्दा कम काम हरिचौर–पाण्डवखानी सडक खण्डमा भएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो।
सडक निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीलाई कामको गति बढाउन पटक–पटक आग्रह गर्दै आएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख अनुक्षा घिमिरेले जानकारी दिनुभयो। “चालु आर्थिक वर्षको ६ महिनासम्म अर्थमन्त्रालयले बजेट नपठाउँदा निर्माण व्यवसायीलाई ताकेता गर्न सकेका थिएनौँ, अहिले काम गर्न सके भुक्तानीको समस्या हुन्न”, उहाँले भन्नुभयो।
उक्त सडकको २०७९ भदौमा रु २५ करोड २० लाखमा ठेक्का सम्झौता गरिएको थियो। उक्त खण्डको सुरुको हरिचौर–मल्लसम्मको आठ किमि सडक कालोपत्र सक्नेगरी सम्झौता भएको थियो। अहिले हरिचौरबाट भैँसेसम्मको सडक स्तरोन्नति सकिएको र बाँकी अफ्ठ्यारा काम सकिने चरणमा रहेको निर्माणमा संलग्न कम्पनीका प्रतिनिधि अमिन लामाले बाताउनुभयो।
“भुक्तानी समस्याका कारण कामले गति लिन सकेको थिएन, अहिले काम धमाधम भइरहेको छ”, उहाँले भन्नुभयो। सडक कालोपत्र भएपछि बागलुङको गलकोट नगरपालिका र बडिगाड गाउँपालिकाहुँदै निसीखोला गाउँपालिका जोड्न सहज हुने छ। उक्त सडक झण्डै ४० किलोमिटर लामो छ।