दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना शिक्षा सुरु गरेको छ। विशेषगरी पूर्व–पश्चिम राजमार्गसहित जिल्लाका सहायक सडक खण्डमा गुड्ने सवारी साधनलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सचेतना शिक्षा सुरु गरेको हो। 

पूर्वको काँकडभिट्टादेखि पश्चिममा मावाखोलासम्मको एक सय ४४ किलोमिटर राजमार्ग क्षेत्रमा विभिन्न ठाउँमा हेल्प डेस्क र जाँच चौकी खडा गरी ट्राफिक सचेतना प्रदान गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो। 

अत्यधिक दुर्घटना हुने क्षेत्र ‘ब्याकस्पट’ क्षेत्रमा ट्राफिक प्रहरीले हेल्प डेस्क र जाँच चौकी खडा गरेको छ। तीव्र गतिमा सवारी नचलाउन आग्रह गर्दै प्रहरीले ठाउँठाउँमा सचेतना बोर्डसमेत राखेको छ। केही दिनयता झापामा सवारी दुर्घटना बढेसँगै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सडक सुरक्षा रणनीति अपनाएको हो। अहिले राजमार्गसँगै विद्यालय, सार्वजनिकस्थल, विभिन्न सङ्घसंस्थामा दिनहुँ ट्राफिक सचेतना कार्यक्रम सञ्चालन भइरहेका छन्। सडकको जीर्ण अवस्था, सवारी साधनको चाप उच्च, ट्राफिक जनशक्तिको अभाव र सवारी चालकको लापरबाहीका कारण झापामा सवारी दुर्घटना बढेको निष्कर्षसहित ट्राफिक प्रहरी सडक सुरक्षामा केन्द्रित भएको हो।  

विशेषगरी साँझको समयमा बढी दुर्घटना हुने गरेको र दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २५ वर्षभन्दा माथि उमेर समूहका भएकाले त्यस्ता समूहलाई लक्षित गर्दै  ट्राफिक सचेतना सुरु गरिएको प्रहरी निरीक्षक न्यौपानेको भनाइ छ। योसँगै ट्राफिक जाँचमा समेत कडाइ गरिएको प्रहरीले जनाएको छ। चालु आर्थिक वर्षको चैत महिनासम्म ट्राफिक नियम उल्लङ्घन गर्ने ३६ हजार २१ सवारी चालक कारबाहीमा परेका छन्। 

ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन नगरी सवारी चलाउन जिल्लाका विभिन्न स्थानमा तीन हजार दुई सय २५ सचेतना कक्षा सञ्चालन गरेको र विद्यार्थीसहित एक लाख ३० हजार आठ सय ४९ जनालाई ट्राफिक सचेतना शिक्षा प्रदान गरिएको प्रहरी निरीक्षक न्यौपानेको भनाइ छ। 

समुदाय केन्द्रित ट्राफिक सचेतना कार्यक्रमसमेत गर्दै आएको ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि आफूहरुसँग उपकरण र जनशक्तिको अभाव भएको जनाएको छ। झापामा दिनानुदिन सवारी साधनको चाप बढ्नु अनि जनशक्ति र जाँचका लागि उपकरण नहुँदा समस्या हुने गरेको ट्राफिक प्रहरी निरीक्षक न्यौपानेको भनाइ छ। सवारीको गति जाँचका लागि ‘याडरगन’ नहुनु, मादक पदार्थ सेवन गरेको वा नगरको जाँचका लागि ‘ब्रेथलाइजर’ मेसिन ट्राफिकसँग नहुनुले समस्या हुने गरेको उहाँको भनाइ छ। 

यातायात व्यवस्था कार्यालयका अनुसार आर्थिक वर्ष २०७९÷८० सम्ममा झापामा दुई लाख ९६ हजार आठ सय ८५ सवारी साधन दर्ता रहेका छन्। त्यो अनुपातले हेर्दा एक ट्राफिक प्रहरीले तीन हजार ३२ सवारी साधनको रेखदेख गर्नुपर्ने अवस्था रहेको प्रहरी निरीक्षक न्यौपानेको भनाइ छ।