इटहरी उपमहानगरपालिकाले खोला र पैनी (कुलो) मिचेर बनाइएको भौतिक संरचना भत्काउन सुरु गरेको छ। बर्सेनि इटहरीमा बाढीले दुःख दिएको भन्दै अतिक्रमित क्षेत्रमा उपमहानगरले डोजर चलाएको हो।

इटहरीस्थित टेङ्ग्रा खोलाको सिरानबाट डोजर चलाउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले जनाए। क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर पौडेल डोजर लिएर खोला पैनी पुगेका थिए। ‘बारम्बार सूचना जारी गर्दा पनि नभत्काए पछि उपमहानगर आफैँले भत्काउन सुरु गरेका हौँ,’ मेयर पौडेलले भने।

कुनै पनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलको भनाइ छ। टेङ्ग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६–६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मान्दै मेयर पौडेलले उक्त खोला पैनीको दुवैतर्फ ६–६ मिटर नछोडीकन बनेका भवन संरचना हटाउन सुरु गरेको बताए। 

वर्षाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ। ठुलो पानी पर्दा त इटहरीमा भयावह स्थिति सिर्जना हुने खतरा रहन्छ। जसले गर्दा हरेक वर्षाको बेला खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने त्रसित हुने गरेका छन्। ‘अब आउँदो वर्षामा इटहरीमा खोलाको तटीय बस्तीमा बस्नेलाई जोगाउन इटहरी उप–महानगरपालिकाले अवैध संरचना हटाउन सुरु गरेको हो,’ मेयर पौडेलले भने। 

इटहरी उपमहानगरपालिकाको ३, ४, ९, १०, ११ र  १२ नम्बर वडा बाढी प्रभावित क्षेत्र हुन्। २०७४ मा आएको बाढीका कारण सो क्षेत्रमा ९ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको बाढीले ४ जनाको मृत्यु भएको थियो। अरू थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षति पुगेको महानगरले जनाएको छ । 

इटहरीमा २०७४ र २०७८ कात्तिक बाहेक २०४३ सालमा आएको बाढीले टेङ्ग्रा खोलाको सतह पुरी दिएको थियो। त्यसबाट साबिक इटहरी १, ४ र ८ नं.वडाको भू–भागको जमिन कम्तीमा १० फुटसम्म चुवानमा परेको थियो। यस्तै, २०५३ सालमा आएको बाढीले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो। त्यति बेला पनि इटहरीमा दुई फुटसम्म जमिन पाङे माटोले पुरेको थियो। वि.सं.२०७० भदौ २१ गते इटहरी क्षेत्रमा पानी परेन। तर, त्यस दिन इटहरीका मानवबस्तीमा बाढी प्रवेश गरेको थियो।