कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पद्म गिरीले ढुवानी सेवासम्बन्धी छुट्टै ऐनको आवश्यकता रहेको बताउनुभएको छ।
राजधानीमा आयोजित ढुवानी व्यवसायी महासङ्घ नेपालको छैटौँ महाधिवेशन तथा १५औँ वार्षिक साधारणसभामा उहाँले विज्ञहरुसँग छलफल गरेर उक्त ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “ढुवानी व्यवसाय क्षेत्रका विधेयक छलफलमा छन्। सबै नसमेटिन सक्छन्। त्यसैले छुट्टै ऐनको आवश्यकता छ जस्तो लाग्छ।” उहाँले ढुवानी व्यवसायले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुयाए पनि भूकम्प, कोभिड तथा आर्थिक मन्दीको मारमा परेको बताउनुभयो।
त्यसैगरी महासङ्घका महासचिव अरूणकुमार श्रेष्ठले महामारीका बेला सामानको नियमित आपूर्ति गरेका ढुवानी व्यवसायीहरू आर्थिक मन्दीको भार खेपिरहेको दुखेसो पोख्नुभयो। श्रेष्ठले भन्नुभयो, “सरकारले ढुवानी सेवामा समेत मूल्य अभिवृद्धि कर लगाउनाले पीडा थपिदिएको छ जसले गर्दा आम नागरिकले मूल्य वृद्धिको मार खेप्नुपरेको छ।” उहाँले करसम्बन्धी व्यवस्था खारेजीको माग गर्नुभयो।
राष्ट्रिय स्वतन्त्रता पार्टीका सांसद शिव नेपालीले यातायात व्यवसायीको हकहितका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले निजी क्षेत्र महत्वपूर्ण खम्बा रहेकोले यातायात तथा ढुवानी व्यवसायीका समस्या समाधानमा सहयोग गर्ने जनाउनुभयो।
ढुवानी व्यवसायका अग्रज व्यक्तित्व सरदार प्रितम सिंहलाई सम्मान गरिएको थियो। साथै गण्डकी विश्वविद्यालयले ढुवानी व्यवसायसँग सम्बन्धित नीति अनुसन्धान गरी आवश्यक प्रतिवेदन तयार पार्ने विषयमा विश्वविद्यालयका रजिस्ट्रार डा.कैलाश तिमिल्सिना र ढुवानी व्यवसायी महासङ्घबीच सम्झौता गरेको छ।