विराटनगर महानगरपालिकाले पहिलोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ। 

मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने महानगरको विश्वास रहेको छ। आगामी चैत २ र ३ गते रोजगार मेला आयोजना गर्ने निश्चित भएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो। विराटनगरस्थित वीरेन्द्र सभागृह छेउमा रहेको इको पार्कमा बिहान १० देखि ५ बजेसम्म मेला सञ्चालन हुनेछ।

स्थानीय रुपमा रोजगारीको खोजीमा रहेका जनशक्तिलाई स्थानीय उद्योग व्यवसाय, बैंकिङ, पर्यटन, होटल, बैंक, बिमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रमा रोजगार उपलब्ध गराउनका लागि सूचनाको पहुँच स्थापना, सहजीकरण र समन्वयात्मक भूमिका निर्वाह गर्न मेला उपलब्धिमूलक हुने मेयर कोइरालाको भनाइ छ।

महानगरले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर कोइरालाले बताएअनुसार बेरोजगार युवाहरूलाई रोजगारबारे सूचना दिलाउने उद्देश्य राखिएको मेलामा प्राविधिक, प्रशासनिक, उद्योग र श्रमिक क्षेत्रका व्यक्तिहरूको सहभागिता हुनेछ।

दक्षताअनुसारको रोजगारीको खोजीमा रहेका युवाहरू प्रत्यक्ष रोजगारदातासँग भेट, युवा जनशक्ति र रोजगारदातालाई जनशक्ति खोज्न र रोज्न सहयोग पुग्ने, स्थानीय क्षेत्रमा रहेका रोजगारका क्षेत्र, सूचना तथा अवसरको जानकारी र सीपमूलक तालिमहरूको अवरसम्बन्धी जानकारी गराउने मेलाको लक्ष्य रहेको छ।

रोजगारको वर्तमान अवस्थाको बारेमा पाश्र्वचित्र र सफलताको कथा, रोजगार तथा उद्यमीसँगको संवाद कार्यक्रम, वृत्ति विकाससम्बन्धी परामर्श सेवा तथा जानकारी, रोजगार खोजकर्ता र रोजगारदाताको तथ्यांक संकलन गरी नमुना रोजगार सेवा केन्द्रमार्फत सहजीकरण हुने अनुमान गरिएको छ। मेलाबाट बढीभन्दा बढी लाभ उठाउन मेयर कोइरालाले आग्रह गर्नुभयो। “मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई जोड्नेछ,” मेयर कोइरालाले भन्नुभयो, “महानगरले आयोजना गर्ने मेलाबाट बढीभन्दा बढी लाभ लिन म आग्रह पनि गर्दछु ।” 

स्थानीय जनशक्तिलाई स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको महानगर रोजगार मेलामा विभिन्न उद्योग व्यवसायहरूबाट सीपयुक्त जनशक्तिको मागको रहेको छ। यस मेलामा करिब ३ हजार जनाभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिनुभयो।

सहभागीमध्ये करिब १ सय ५० जनाले रोजगारीको अवसरको सूचना प्राप्त र प्रत्यक्ष भेटघाटको अवसरको अनुमान गरिएको छ। मेलामा उद्योग, हस्पिटल, होटेल, बैंक तथा वित्तीय संस्था, शैक्षिक परामर्श केन्द्र, रोजगार केन्द्रका करिब ४० वटा स्टल समावेश हुने महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले बताउनुभयो। मेलामा स्टल निःशुल्क उपलब्ध गराइनेछ।