मोरङको केराबारी गाउँपालिका–१ डाँडा गाउँकी ७९ वर्षीया सन्तमाया लिम्बू आगोले जलेर घाइते भएकी छन्।

आफ्नै घरमा लागेको आगो नियन्त्रण गर्ने क्रममा घाइते भएकी सन्तमायालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। प्रहरीका अनुसार आगोले वृद्धाको हात, खुट्टा, अनुहारलगायत शरीरका विभिन्न भाग जलेको छ।

 घरमा सन्तमाया र उनका श्रीमान शेरबहादुर लिम्बू मात्रै बस्दै आएको खुलेको छ। लिम्बू दम्पती बस्दै आएको घरमा शनिबार साँझ आगलागी भएको थियो।

काठ प्रयोग गरेर बनाइएको र कर्कट पाताको छानो भएको २ तले घरमा आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिएका छन्। 

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। दाहालका अनुसार आगोले घरसहित भान्सा घर, शौचालय, ८ तोला सुन, १० तोल चाँदी, ७ लाख रूपैयाँ नगद, लत्ताकपडा, काठ, अन्नपात सबै जलेर ध्वस्त भएको छ। आगलागीमा ३० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।