अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन्। पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए। अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा परेका हुन्।
भू-संरक्षणसँगै घाँस, फूल र तथा डाँठबाट आम्दानी गर्न सकिने बहुउपयोगी अम्रिसोले गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतको हाराहारीमा मूल्य गिरावट आएको छ। गत वर्ष प्रतिकेजी रु.एक सय २० देखि रु.एक सय ३० सम्ममा बिक्री भएको अम्रिसोको फूल (कुचो) अहिले प्रतिकेजी रु. ६५ मा मात्र बिक्री भएको जनाइएको छ।
भिरालो पाखोबारीमा समेत भूक्षय रोक्ने उद्देश्यले बारीका कान्लाको अम्रिसो खेती गरिन्छ। अन्य बालीको तुलनामा कम खर्चिलो र कम मेहनतमा नै आम्दानी पाउने भएपछि धान, मकै, कोदो लगाउने खेत र बारीमा समेत अम्रिसो खेती गर्ने गरेका छन्। बिरुवाका लागि भइरहेको बोटबाटै अर्को बिरुवा निकाल्न सकिने, गोडमेलका लागि झन्झट नहुने भएका कारण कम लगानीमा राम्रो आम्दानी गर्न सफल भएपछि किसान अम्रिसो खेतीतर्फ आकर्षित भएका छन्।
किसानले यसको पात र कमलो डाँठ बोट डालेघाँसका लागि प्रयोग हुने र फूल (कुचो) छुट्टाछुट्टै मूल्यमा बिक्री गर्ने गरेका छन्। दोमट माटो भिरालो जग्गामा अम्रिसो खेती फस्टाउने गरेकै कारण किसानले प्रसस्त मात्रामा कुचो उत्पादन गर्ने गरेका छन्। अहिले एक जना किसानले चार हजार केजीसम्म कुचो बिक्री गर्ने गरेका छन्।
इलामको सबै पालिकाका विभिन्न ठाउँमा मुख्यरुपमा अम्रिसो खेती हुने गर्दछ।अम्रिसोको कुचो स्थानीय बजारमार्फत झापाको धुलाबारीमा सङ्कलन भएपछि काँकटभिट्टा हुँर्दै भारत निकासी हुने गरेको छ। जिल्लामा वार्षिक तीन हजार पाँच सय मेट्रिक टन अम्रिसो उत्पादन हुने तथ्याङ्क छ।
कुचो उत्पादन हुने क्षेत्र थपिँदै गएकाले उत्पादनमा समेत वृद्धि हुने व्यापारीको अनुमान छ। घर, कोठा सफा गर्नका लागि कुचो बनाउनदेखि विदेश निर्यात हुँदै आएको छ।