संघ, प्रदेश र स्थानीय तहका रिक्त स्थानहरुमा उपनिर्वाचनको मिति तय गर्न निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पुर्याएको छ। राजनीतिक दल र सरकारसँग परामर्शपछि सम्भवतः बैशाखको पहिलो वा दोस्रो हप्ताभित्र उपनिर्वाचन गराउने आयोगको तयारी छ।
उपनिर्वाचन हुने तहहरुमध्ये प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ धेरैको चासोको क्षेत्र बनेको छ। ठूला दलहरुले यस क्षेत्रलाई आफ्नो प्रतिष्ठा र अस्तित्वसँग जोडेर हेरिरहेका छन्। निर्वाचन क्षेत्रमा लोकप्रिय उम्मेदवारको खोजीमा दलहरु ‘आन्तरिक सर्भे’मा पनि जुटेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेले मतदाताको मनोभावना बुझ्न केन्द्रीय तहबाटै नेताहरु परिचालन गरेर सर्भे गरिरहेको छ।
उम्मेदवारमा आकांक्षा राख्नेहरुको अवस्था र मतदाताको मनोविज्ञान बुझ्न केन्द्रीय नेताहरु सक्रिय छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही साताअघि इलामै पुगेर सर्वेक्षणका आधारमा लोकप्रिय उम्मेदवार चयन गर्ने र कांग्रेस उम्मेदवारलाई विजयी गराइछाड्ने प्रतिक्रिया दिएका थिए।
एमाले पनि मतदाताको सहानुभूति र लोकप्रियताका आधारमा उम्मेदवार चयन गर्ने तयारीमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी भने उपयुक्त उम्मेदवारको खोजीमा छ। उम्मेदवारको टिकट नपाएर असन्तुष्ट बनेका ठूला दलका नेता फकाएर आफ्नो उम्मेदवार बनाउने रास्वपाले रणनीति बनाएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसकै नेता उम्मेदवार बन्ने लगभग निश्चित छ।
यद्यपी, उपनिर्वाचनको मिति घोषणा नहुँदै दलहरुले इलाम २ का गाउँहरुमा गतिविधि बढाएका छन् । भेला, सभा र कार्यकर्ता भेटघाटका कार्यक्रमहरु भइरहेका छन् । उपनिर्वाचनको मिति तोकेपछि चुनावी अभियान गर्ने समय छोटो हुने भएपछि नेताहरुले सक्रियता बढाएका हुन् । उम्मेदवारका आकांक्षीहरु टिकट फुत्काउन काठमाडौं–इलाम बराबरी दौडधुप गरिरहेका छन् । प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएसँगै उक्त क्षेत्रको सांसद पद रिक्त बनेको हो ।