मोरङको बूढीगंगा गाउँपालिका–७ मा बोक्सीको आरोप लगाएर एक जना महिलालाई मलमूत्र (दिसा–पिसाब) खुवाइएको छ।

कुटपिट गर्दै र यातना दिँदै ५५ वर्षीया महिलालाई बिहीबार दिउँसो मानव मलमूत्र खुवाइएको हो। बोक्सीको आरोप लगाएर महिलामाथि अमानवीय व्यवहार गर्ने अर्की महिला पक्राउ परेकी छन्।

गाउँ घरमा धामी झाँक्रीको काम गर्दै आएकी बूढीगंगा–७ की ५० वर्षीया पारो माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

उनका अनुसार धामी झाँक्रीको काम गर्दै गाउँ घरमा झारफुक गरेर हिँड्ने माझीलाई बिहीबार साँझ पक्राउ गरिएको हो। माझीले बोक्सीको आरोप लगाउँदै कुटपिट गरेर र यातना दिएर मलमूत्र खुवाउँदै महिलामाथि अमानवीय व्यवहार गरेको दाहालको भनाइ छ।

प्रहरीका अनुसार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । उक्त दियो चोरी गरेको आरोप उनले पीडित महिलालाई लगाइन्। पूजाको दियो हराएपछि बोक्सीले चोरी गरेको भनेर माझीले यातना दिँदै महिलामाथि अमानवीय व्यवहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पीडित पक्षले बिहीबार साँझ इलाका प्रहरी कार्यालय हरैँचा पुगेर प्रहरीलाई घटनाको जानकारी गराएका थिए। त्यसलगत्तै बोक्सीको आरोप लगाएर अमानवीय हर्कत गर्ने माझी पक्राउ परेकी हुन्। माझीले जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेर लगेको थाहा भएपछि बोक्सीलाई गर्ने कारबाही गरेको प्रहरीसमक्ष स्वीकार गरेकी छन्।

कुटपिट गर्दै यातना दिन थालेपछि पीडितले पटक  पटक आफूलाई त्यसो नगर्न आग्रह गरेको प्रहरीको भनाइ छ। तर, माझीले घरमा लगाएको पूजामा बोक्सी प्रवेश गरेको भन्दै लछारपछार पारेर मलमूत्र खुवाउँदै अमानवीय व्यवहार गरेको पाइएको छ। पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकी माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ।

डीएसपी दाहालले अनुसन्धानका लागि अदालतबाट शुक्रबार म्याद थप गरिने बताए। इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाका बारेमा विस्तृत अनुसन्धान अघि बढाएको र घटनामा अरु व्यक्तिहरुको संलग्नता हालसम्म नदेखिएको बताएका छन् ।