भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो। पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ।
यसअघि यहाँका ठूला नदी दूधकोशी र अरुणमा पुल नहुँदा सवारीसाधन सञ्चालनका लागि स्थानीयले सास्ती भोग्दै आएका थिए। वर्षात्को समयमा बाहेक हतुवागढी–९ कोप्चेबाट दैनिक जेटबोट सञ्चालन भइरहेको छ।
दक्षिणी क्षेत्रका स्थानीय जेटबोट चढेर जलयात्रा मार्फत धरान, इटहरी, विराटनगर लगायत ठाउँमा पुगेर घर फर्कने वातावरण बनेको स्थानीय इन्द्र थापाले बताउनुभयो। भिरको बाटो तीनदेखि चार घन्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने अवस्थामा जलयात्राले सहजता भएको छ ।
जलयात्राबाट चतरा सम्मको करिब १९ किमी दूरी २० देखि २५ मिनेटमा पुगिने थापाले जानकारी दिनुभयो । “स्थानीयलाई आवागमनका लागि पानी जेटबोट सञ्चालनले धेरै सहज भएको छ । सडकका माध्यमबाट यात्रा गर्न नदीमा पुल छैनन् । वर्षात्को समयमा अलि कठिन भए पनि हिउँदमा जलयात्रा गरेर एक दिनमा तराईका सहरमा पुगेर फर्कन सक्ने वातावरण बनेको छ।”
स्थानीयले १९ किमी यात्रा गरेको रू.६ सय भाडा तिर्दै आएका छन् । अरुण नदीमा जेटबोट सञ्चालनले बिरामी हुँदा सहरका ठूला अस्पतालमा छिटो पुगेर उपचार गर्न सहजता थपिएको स्थानीय लालबहादुर प्रधानले बताउनुभयो।
भोजपुर सदरमुकाम भएर लेगुवा, हिले, घनकुटा हुँदै तराई झर्न करिब २ किमी पर्ने भन्दै दक्षिणी भेगका स्थानीयका लागि यो जेटबोटले धेरै सुगमता थपेकोे छ ।
भोजपुर सदरमुकाम भएर यात्रा गर्न धेरै लामो दूरी हुन्छ जेटबोट सञ्चालनमा आएपछि कम समयमा यात्रा गर्न सकेको र बिरामी हुँदा चाँडो उपचार लिन सक्ने वातावरण बनेको छ । यसले दक्षिणी क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको प्रधानले बताउनुभयो ।
जेटबोट सञ्चालनले भोजपुर, धनकुटा र सुनसरीलाई पूर्वी तराईसँग जोडेको गाउँपालिकाले जनाएको छ । जलयात्रालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ पर्यटन पूर्वाधारको विकासमा पालिका जुटेको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो।
जेटबोट सञ्चालन भएसँगै हतुवागढी क्षेत्रबाट तराईका जिल्लासँगको दूरी छोटो पर्ने भएकाले यहाँको विकासमा टेवा पुगेको छ।