विराटनगर, २३ पौष ।
पछिल्लो समय चिसो बढ्दै गएपछि मोरङको बुढीगंगा गाँउपालिकाले विपन्न र दलित जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरेर बुढीगंगा गाँउपालिकाले वडा नं. १ मा कम्बल बितरण गरेको छ ।बुढीगंगा गाउँपालिकाले कम्बल वितरण कार्यक्रमलाई ७ वटै वडामा कार्यक्रम आयोजना गरेर वितरण गर्ने जनाएको छ । एक कार्यक्रममा १ सय ३५ जना विपन्न र दलित जेष्ठ नागरिकहरुलाई गाँउपालिकाका अध्यक्ष जीत नारायण थापामगर लगायतका पदाधिकारीहरुले कम्बल वितरण गरे ।
बुढीगंगा गाँउपालिकाका अध्यक्ष जीत नारायण थापामगरले गरिब र विपन्न परिवारहरुलाई चिसोबाट जोगाउन कम्बल वितरण गरिएको र यसलाई निरन्तरता दिने जानकारी दिए । उनले स्वास्थ्य रहे हामी रहन्छौ भन्ने कार्यक्रम अनुसार निशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरेको बताए ।
जाडोको मौसममा दाउरा वितरण गर्दै आएकोमा ओढ्न र सुत्न समेत सजिलो हुने भएकाले यसपटक देखि कम्बल बाडिएको बुढीगंगा गाँउपालिकाले जनाएको छ ।
सो कार्यक्रममा निशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो । सहभागिहरुको सुगर र प्रेसर जाँच गर्नुका साथै आवश्यक औषधी वितरण गरिएको थियो ।