विराटनगर, ८ पौष ।

 नेपाल सरकारका प्रवक्ता एवम संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्झौता अनुसार नै माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहने र नेतृत्व परिवर्तन बारे छलफल नभएको तथा आवश्यकता र स्थिति पनि नभएको बताइन ।

 प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संचार मन्त्री रेखा शर्माले गठबन्धन बीच भएको सम्झौता अनुसार सरकारको नेतृत्व परिवर्तन नहुने बताइन । उनले सरकारले एक वर्षपूरा गरेको र अब गियर परिवर्तन गरेर सरकारको गति बढाउने गरी प्रधानमन्त्रीले काम गरिरहनुभएको बताउनु भयो ।

संचार मन्त्री रेखा शर्माले सामाजिक सुरक्षालाई सबै तहमा लागू गर्ने सरकारको नीति भएकाले सरकारी निकाय तथा संस्थानहरुमा समेत यसलाई प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिइएको बताइन । उनले सरकारले सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको र यसको प्रभावकारी कार्यान्वयन गर्न ऐनमा नै व्यवस्था गर्न लागेको बताइन ।

 फरक प्रसंगमा मन्त्री शर्माले विगतका सरकारका कारण सरकारलाई दायित्व बढेको बताउदै अहिले सरकारले दिनुपर्ने बक्यौता र भुक्तानीहरु दिन शुरु गरिसकेको र चाडै नै निर्माण व्यवसायीहरुले भुक्तानी पाउने जानकारी दिइन ।