शिक्षक सेवा आयोगले एक वर्षमा १३ हजार भन्दा बढी शिक्षकलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ । गत आर्थिक वर्ष २०७९।८० मा आयोगले प्राथमिक तह तृतीय श्रेणी, निम्नमाध्यमिक  र माध्यमिक गरेर तीन तहका लागि १३ हजार ४९४ जनालाई स्थायी शिक्षक नियुक्तका लागि सिफारिस गरेको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन अनुसार आयोगले उक्त संख्यामा सिफारिस गरेको हो ।

शिक्षक पदको खुला प्रतियोगिताका लागि मावि तर्फ १ हजार १८२ जनालाई स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको हो ।त्यस्तै १ हजार ९५९ जना निमावी र १० हजार ३५३ जनालाई प्रावि तहमा स्थायी शिक्षक नियुक्तिका लागि केन्द्रलाई सिफारिस गरेको हो । त्यस्तै आयोगले गत वर्ष ३ हजार २९० जना श्क्षिकहरूको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गरेको थियो ।

आयोगले गत वर्ष नै ९ हजार ७६५ शिक्षक पदको लागि विज्ञापन समेत प्रकाशन गरेर सामान्य परीक्षाको नतिजा समेत प्रकाशन गरेको थियो । ति उम्मेद्वारहरूको चालु आर्थिक वर्षमा समेत छनौटको प्रकृया चलिरहेको छ ।