लामो समयदेखि प्रतिक्षा गरिएको सङ्घीय शिक्षासम्बन्धी विधेयकलाई परिमार्जन गरी नेपाल सरकारले ‘विद्यालय शिक्षा विधेयक’ चाँडै सङ्घीय संसद्मा प्रस्तुत गर्ने भएको छ । परिमार्जित उक्त विधेयक अघि बढाउन लागिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । उक्त विधेयक गत असारको पहिलो सातादेखि मन्त्रिपरिषद्को विधेयक समितिमा विचाराधीन अवस्थामा थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चामा आबद्ध दलनिकट विद्यार्थी सङ्गठनका पदाधिकारीसँग आइतबार गर्नुभएको भेटवार्तामा सो विधेयक यही साउन १६ गते संसद्मा पुग्ने जनाउनुभएको थियो । प्रधानमन्त्रीको उक्त जानकारीपछि विधेयकबारे शिक्षा क्षेत्रमा थप चासो बढेको छ तर मन्त्रालयले भने विधेयकको मस्यौदा सार्वजनिक गरेको छैन । प्रवक्ता शर्माले मन्त्रिपरिषद्मा पेस भइसकेपछि के के संशोधन भयो भन्ने आफूहरुलाई थाहा भइनसकेकाले विधेयकबारे विस्तृतमा भन्न नसकिने बताउनुभयो । नेपालको संविधान जारी भएपछि सङ्घीय शिक्षा ऐनको आवश्यकता बोध भए पनि पटकपटक मस्यौदा बन्दै मन्त्रिपरिषद्सम्म पुगेर पुनः शून्यमा पुगी हाल नयाँ मस्यौदा तयार भएको हो । सो विधेयकमाथि स्थानीय तह, शिक्षक, निजी विद्यालय सञ्चालक, विद्यालय कर्मचारी, बालविकास शिक्षकलगायत क्षेत्रमा चासो रहेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले उक्त विधेयक ल्याउन ढिलाइ नगर्न ध्यानाकर्षण गराउनुभएको थियो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मन्त्रिपरिषद्को विषयगत समितिमा विधेयक विचाराधीन रहेकाले चाँडै सदनमा पुग्ने जानकारी गराउनुभएको थियो । प्रवक्ता शर्माले आफूहरुले विभिन्न सरोकार भएकाहरुसँगको सहमति र परामर्शमा भएका विषयवस्तुलाई सकेसम्म सम्बोधन गर्नेे प्रयास गरेको अवगत गाउनुभयो । –––RSS