विराटनगर  । विराटनगर महानगरपालिकाले मासु पसलको अनुगमनलाई तीव्र दिएको छ ।

महानगरवासीलाई सफा र स्वच्छ मासु सेवन गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यका साथ महानगरको टोलीले बजार अनुगमनलाई तीव्रता दिएको हो । 

महानगरभित्र सञ्चालित सबै मासु पसलको अनुगमन गर्ने योजनाअनुसार हरेक दिन मासु पसलको अनुगमन गर्ने गरिएको पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिए । 

अनुगमनका क्रममा मासुको खपत, पसलको संख्या, मासु पसलमा रोजगारी सिर्जनाको अवस्थालगायतका बारेमा समेत तथ्यांक संकलन गरिने गरेको छ । महानगरको टोलीले वुधवार विराटनगर वडा नम्बर २ को तीनपैनी, बरगाछीलगायतका स्थानमा सञ्चालित मासु पसलको अनुगमन गरेको हो । टोलीमा पशुपंशी शाखाका प्रमुख यादवसहित महानगर प्रहरीका प्रमुख राजन पौडेल, डा. सराहना सुवेदी, गणेशप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । अनुगमनका क्रममा पसलको दर्ता, नविकरण, फोहोरको व्यवस्थापनलगायतका विषयमा पनि हेरिएको थियो ।