पाल्पा, २५ माघ (रासस) : यहाँको निस्दी गाउँपालिका–५ ढुङ्गानाबेँशीमा रहेको जनता माविमा कक्षा ९ मा अध्ययन गर्नुहुन्छ डुमिसरा सारु । उहाँको भलिबलमा धेरै नै रुचि छ । भविष्यमा राम्रो खेलाडी बन्छु भन्ने सोच भएतापनि खेल्ने उचित वातावरण नहँुदा उहाँ निराश हुनुहुन्छ । स्थानीय तथा विद्यालयस्तरमा हुने खेलकुदका कार्यक्रममा सहभागी हुँदै गर्दा पूर्वाधारको विकास तथा उचित वातावरण नहुँदा राम्रो खेलाडी बन्ने सपना पूरा नभएकोमा उहाँ चिन्तित हुनुहुन्छ । दुई वर्षदेखि स्थानीयस्तरमा हुने भलिबल खेलमा प्रतिस्पर्धा गर्दै आउनुभएको छ उहाँले । सोही विद्यालयको कक्षा १२ मा अध्ययन गर्ने १७ वर्षीया देउमाया सारु पुरुषको तुलनामा महिला खेलाडीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताउनुहुन्छ । एकै प्रकृतिको खेल आयोजना भएपनि पुरस्कारमा महिलालाई समान व्यवहार नभएको उहाँको गुनासो छ । “प्रतिभाशाली खेलाडी भए पनि बाहिर प्रतिस्पर्धामा निस्कने कम छन् । पुरुषको तुलनामा महिलाका लागि आयोजना हुने खेलमा थप मनोबल बढाउने गतिविधि हुनुप¥यो, महिला भनेर एकै प्रकृतिको खेलमा पुरस्कारमा विभेद् गर्नुभएन, यस्ता कुराले पनि भर्खरै खेलमा जुर्मुराउँदै गरेका खेलाडीमा असर गर्न सक्छ” उहाँले भन्नुभयो । गाउँघरमा छरछिमेक, दाजुदिदीले खेल खेलेको देखेर आफूले पनि स्थानीयस्तरमा हुने कार्यक्रममा सहभागिता जनाउने गरेको उहाँको भनाइ थियो । “पुरुष खेलाडीले खेल्दा दर्शकबाट पनि छुट्टै प्रोत्साहन हुने, आयोजकले विशेष प्राथमिकता र महत्व दिने गर्दछन् । यसले गर्दा महिला खेलाडीमा निराशा हुनु स्वभाविक नै हो”, उहाँले भन्नुभयो । दरैठाँटी मावि रामपुरमा कक्षा १० मा अध्ययन गर्ने १५ वर्षीया अस्मी घर्तीले तीन वर्षयता भलिबललाई प्राथमिकता दिँदै प्रतिस्पर्धात्मक कार्यक्रममा सहभागी हुँदै आउनुभएको छ । महिलाका लागि विद्यालय तथा स्थानीयस्तरमा भलिबल खेल धेरै आयोजना हुने गरेकाले राम्रो खेलाडी बन्ने अठोटका साथ उहाँ मैदानमा निस्कनुहुन्छ । “स्थानीयस्तरमा खेलका लागि आवश्यक न्यूनतम पूर्वाधार खडा हुन नसक्दा खेलमा भविष्य देखेका हामी स्थानीयस्तरमा मात्रै सीमित त बन्ने होइन भन्ने चिन्ता लाग्छ”, उहाँले भन्नुभयो । स्थानीय तहमा मात्र नभइ बाहिरी जिल्लामा पनि प्रतिस्पर्धा गर्न सक्ने गरी प्रशिक्षणको व्यवस्था हुनुपर्ने उहाँको भनाइ थियो । उहाँका अनुसार प्रशिक्षणको व्यवस्था नहुँदा आफ्नै मेहनतले सिक्दै खेल्ने गरिएको छ । स्थानीयस्तरमा स्थानीय सरकारले महिला खेलाडीका लागि आवश्यक पूर्वाधार तयार पार्नुपर्नेमा उहाँले जोड दिनुभयो । दरैठाँटी माविकै कक्षा ११ मा पढ्ने १८ वर्षिया अस्मिता थापा सानैदेखि भलिबलमा रुचि राख्नुहुन्थ्यो । अहिले भलिबल खेल्न पाउँदा उहाँ हर्षित हुनुहुन्छ । “भलिबलसँग मेरो एक खालको प्रेम बसेको छ । फुर्सदमा भलिबल खेल्ने गर्छु । परिवारको साथ र सहयोग पाएकाले यसबाटै राष्ट्रिय खेलाडी बन्ने सपना छ”, थापाले भन्नुभयो । तीन वर्षदेखि भलिबल खेल्दै आउनुभएकी उहाँ महिलालाई छुट्टै प्रशिक्षण, प्रशिक्षकको व्यवस्था, बाहिर प्रतिस्पर्धामा जान वडा तथा पालिका तवरबाट प्राथमिकता दिनुपर्ने बताउँनुहुन्छ । “स्थानीयस्तरमा मात्रै केन्द्रित बनाउँदा आशा लाग्दा र सम्भावना बोकेका खेलाडी ओझेलमा परेका छन्, राम्रो खेल्न सक्ने क्षमता भए पनि पूर्वाधारलगायत विविध समस्याले खेलमा महिलाको उपस्थिति कम छ”, उहाँले भन्नुभयो । विद्यालयस्तरमा हुने खेलकुदका कार्यक्रमले यस क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको रामपुर नगर भलिबल सङ्घका अध्यक्ष देव श्रेष्ठले बताउनुभयो । “अझैपनि पुरुषको तुलनामा महिला खेलाडीलाई सहभागिताका लागि समस्या छ । उनीहरुलाई घरमै लिन जानुपर्ने हुँदा महिलालाई प्राथमिकतामा राखेर स्थानीय तह तथा सम्बन्धित निकायले खेलकुदजन्य कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार पहिलेभन्दा हिजोआज महिलालाई घर बाहिर निस्कन केही सहज भएपनि घरायसी कारणले सहभागिता गराउन समस्या छ । रामपुर क्षेत्रमा विभिन्न विधामा खेलकुदजन्य कार्यक्रम भइरहे पनि महिलाका लागि भलिबलमा मात्रै सीमित बनाइन्छ । सङ्घीय संरचनापछि स्थानीयस्तरका कार्यक्रममा सहभागी हुने अवसर पाएपछि महिला खेलाडी प्रतिस्पर्धामा विस्तारै निस्कदै गएका छन् । राष्ट्रपति रनिङ शिल्ड, मेयर कप, अध्यक्ष कप, ओकेबाजे कप जस्ता प्रतियोगितात्मक कार्यक्रमले महिला खेलाडीलाई प्रतिस्पर्धामा आउन सजिलो बनाएको छ । स्थानीय र जिल्ला तहमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई सम्बन्धित पालिकाले माथिल्लो क्षेत्रसम्म प्रतिस्पर्धा गर्ने वातावरण तयार पारिदिनुपर्ने महिला खेलाडी बताउछन् । खेल क्षेत्रमा सामान्य आधारभूत सेवा सुविधा समेत नहँुदा खेलाडीको मनोबल बढ्न नसकेको उनीहरुको भनाइ छ । –––RSS