मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित गोठगाउँका शङ्कर आचार्य १३ वर्षअघि जङ्गलमा दाउरा लिन जाँदा भारीसँगै लडेर शारीरिकरुपमा अशक्त हुनुभयो । त्यो पीडालाई भुलेर उहाँले आचार्य फ्रेस हाउस सञ्चालनमा ल्याउनुभयो । यो व्यवसायबाट मासिकरूपमा सम्पूर्ण खर्च कटाएर रु ३० हजारसम्म आम्दानी गर्नुहुन्छ आचार्य । दैनिकरूपमा ७० केजिसम्म मासु बिक्री गर्दै केहीलाई रोजगारी दिएको उहाँको भनाइ छ । हरेस नखाएर परिवारको खर्च टार्न फ्रेस हाउस सञ्चालनमा ल्याएको उहाँको भनाइ छ । सुरूमा ऋणधन गरी कुखुरापालन गरे पनि यसबाट राम्रो कमाई हुने चाल पाएर यो व्यवसाय गरेको आचार्यको भनाइ छ । कृत्रिम खुट्टाको सहायतले तीन पाङ्ग्रे स्कुटर लिएर आवश्यक कामका लागि उहाँ बजार निस्कनुहुन्छ । भारतको नागाल्याण्डमा जन्मेर आर्थिक अवस्था कमजोर भएका कारण कक्षा ८ सम्म पढ्नुभएको आचार्यसँग दिल्लीमा १३ वर्षसम्म सुरक्षागार्डमा काम गरेको अनुभव छ । “मजदुरी गरेर घरखर्च चलाइराखेको थिए, पछि यस्तो जीवन बिताउनुपर्ने बाध्यता आइलाग्यो”, ४५ वर्षीय आचार्यले दुखेसो गर्नुभयो । विगत १२ वर्षदेखि आफ्नै गाउँठाउँमा फ्रेस हाउस सञ्चालन गर्दै आउनुभएको उहाँलाई यो व्यवसायमा लाग्न सुरूआतमा स्थानीय कमल दाहाल तथा मनोज घिमिरेबाट हौसला मिलेको थियो । अहिले दुई छोराछोरीको पढाइ र घरपरिवारको खर्च यसैबाट चलेको छ । उहाँले भन्नुभयो, “आफूसँग लगानी नभएका कारण फ्रेस हाउस विस्तार गर्न सकेको छैन”, व्यवसाय सञ्चालनका लागि स्थानीय बाहेक अहिले सम्म सरकारी निकायबाट कुनै सहयोग नपाएको आचार्यको गुनासो छ । स्थानीयस्तरमै आयमूलक काममा लाग्नेलाई प्रोत्साहनस्वरूप विभिन्न सीपमूलक तालिम, प्रशिक्षण र सुरूआती अवस्थामा सर्तसहितको ऋणको व्यवस्था सरकारी पक्षबाट गर्नुपर्ने उहाँले सुनाउनुभयो । सुन्दरहरैँचा नगरपालिकामा दुई दर्जन फ्रेस हाउस सञ्चालनमा छन् । हिम्मतसाथ काम गर्नुभएका शङ्कर फरक र उदाहरणीय भएको सुन्दरहरैँचा नगरपालिका–७ का वडाध्यक्ष भुवनसिंह मगरले बताउनुभयो । शारीरिकरूपमा अशक्त भए पनि हरेस नखाइ समाजमा अघि बढेर कामगरी खानुपर्छ भन्ने सकारात्मक उदाहरण आचार्यले प्रस्तुत गर्न सफल हुनुभएको नगरस्तरीय अपाङ्ग समन्वय समिति अध्यक्ष मीना आचार्यको भनाइ छ । ---RSS