मोरङ । बेलबारी नगरापालिकाले ४३ औँ राष्ट्रिय शिक्षा दिवस तथा ५६ औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेवानिवृत्त शिक्षक तथा मर्मचारीलाई विदाइ तथा सम्मान गरेको छ । 

नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा लामो समयसम्म काम गरेर हालसालै सेवानिवृत्त भएका शिक्षक तथा कर्मचारीलाई विदाइ तथा सम्मान गरेको हो ।                                           

कार्यक्रममा मावि ४, निमावि ३ र प्राथमिक १६ गरी २३ जम्मा निवृत्त शिक्षक र तीन जना कर्मचारी गरेर २६ जनालाई सम्मान गरिएको र उक्त कार्यक्रममा नवनियुक्त १२ जना प्रधानाध्यापकहरूलाई सम्ममान तथा स्वागतसमेत गरिएको नगरशिक्षा शाखा अधिकृत एनिला बस्नेतले बताइन् । 

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, उपप्रमुख नीतु थापा कोइराला, शिक्षा शाखा प्रमुख भूपेन्द्रप्रसद कोइरालाले संयुक्त रूपमा दोसल्ला ओढाएर उनीहरूलाई सम्मान गरेका थिए । 

नगरप्रमुख राईले सेवानिवृत्त शिक्षक तथा कर्मचारीलाई लामो समयसम्म नगरको शैक्षिक विकासमा योगदान गरेकोमा शुभकामाना व्यक्त गर्दै बाँकी जीवन समाज रुपान्तरनका निम्ति योगदान दिन आग्रह गरे । 

परिवर्तनका लागि नेतृत्व असल हुनुपर्ने बताउँदै नगरपुख राईले नव नियुक्त प्रधानाध्यापकलाई जिम्मेवारीबहन सहीतरिकाले गर्न पनि आग्रह गरे । 

प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले सेवानिवृत्त शिक्षक तथा कर्मचारीले नगरको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान दिएको बताए । उनले यो गुणलाई समाजले कहिल्यै नभुल्ने पनि बताए ।                                            

सेवानिवृत्त शिक्षको तर्फबाट गोविन्द भण्डारी, नवनियुक्त प्रधानाध्यापकका तर्फबाट महेन्द्र मावि बेलबारी –१० का दीक्षा तुम्साले मन्तव्य राखेका थिए । 

लक्ष्मी मावि बेलबारी –११ का पूर्व प्रधानाध्यापकसमेत रहेका भण्डारीले नगरपालिकाले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै लामो समयसम्म सेवा गरेर विदा हुने कर्माचारीहरूले भने खालीहात विदाइ हुनु परेकोमा गुनासो व्यक्त गरे । उनले सेवानिवृत्त भए पनि नगरको सर्वाङ्गीण विकासमा आफूहरूको सहयोग सधैँ रहने बताए ।  

त्यस्तै प्रधानाध्यापक तुम्साले विद्यालयमा धेरै समस्या रहेको, ती समस्यलाई भोगेको मानिसले मात्र बुझ्न सक्ने बताइन् । उनले असल अभिभावक पाएकोमा खुसी व्यक्त गर्दै नगरप्रमुखलाई सबै विद्यालयलाई समानताको आँखाले हेर्नसमेत आग्रह गरिन् ।  

उक्त कार्यक्रममा बेलबारीलाई बेलमय बनाउने अभियानका लागि बेलबृक्षका बेर्ना वितरण गरिएको थियो । नगरपालिकाका शिक्षा शाखा प्रमुख भूपेन्द्रप्रसाद कोइरालाले बेलबारीलाई हरित नगरबनाउँने कार्यक्रमलाई निरन्तरता दिँदै २१ हजार विद्यार्थीमार्फत बेलबारीलाई बेलमय बनाउने लक्ष राखिएको बताए । उनले सामाजिक विषयको वार्षिक परीक्षामा प्रयोगात्मक अङ्कसमेत बिरूवाको स्याहारसुसारको आधार बनाइने पनि शिक्षा शाखा प्रमुख कोइरालाको भनाइ रहेको छ ।