संखुवासभाको धर्मदेवी नगरपालिकाको केन्द्र मूढेबजारबाट अगाडी केही किलोमिटर पार गरेपछि सदरमुकाम खाँदबारी जाने बाटैमा पर्छ माम्लिङ गाउँ । हाल धर्मदेवी नगरपालिका वडा नम्बर ५ मा पर्ने यो गाउँ निकै उर्वर र कृषियोग्य छ । जसका कारण पनि यहाँका बासिन्दाहरु कृषि तथा पशुपालनमा आवद्ध छन् । माम्लिङका कृषकहरुले बर्षौं अघिदेखि गाइभैंसी पालेर दूध उत्पादन गर्दथे । उनीहरुले उत्पादन गरेको दूध घरपरिवारले खाएर पनि सकिंदैन थियो । विक्री गर्न लैजाउँ बजार थिएन । यसरी वर्षौंदेखि मोही बनाएर खेर गइरहेको दूध आजभोलि भने सजिलै विक्री हुने गरेको छ । स्थानीय कृषकहरु मिलेर गाउँमै दूग्ध सहकारी खोलेर छुर्पी र घिउ उद्योग सञ्चालन गर्न थालेपछि भने दूध नबिक्ला भन्नु परेको छैन ।
उत्पादित दूधले बजार नपाएपछि स्थानीयबासीले गाउँमै दूग्ध सहकारी खोल्ने तथा छूर्पी र घिउ बनाएर बेच्ने निधो गरे । जसको नेतृत्व धर्मदेवी नगरपालिका वडा नम्बर ५ का तत्कालिन वडाध्यक्ष तथा हालका नगर प्रमुख उदयचन्द्र पौडेलले गर्नुभयो । उहाँकै नेतृत्वमा सहकारी खोलेर छुर्पी र घिउ उत्पादन थालेपछि कृषकहरुले भनेजति दाममा गाउँमै दूध बेच्न थालेका छन् । यसरी दूध बेच्न थालेपछि कृषकहरुको आम्दानी समेत बढेको छ ।
यस सहकारीमा उत्पादीत छूर्पी र घिउ उच्च गुणस्तरको मानिने भएकाले व्यापारीहरु आफैं आएर लैजाने गरेका छन् । यहाँ उत्पादीत छुर्पी र घिउ पूर्वका बजारका साथै राजधानी काठमाडौंमा समेत निर्यात हुने गरेको छ ।
कृषकहरुलाई उत्पादनमा जोड दिने तर बजारीकरणमा ध्यान नदिने चलन छ । जसका कारण कृषकहरुले सोचे जस्तो आम्दानी लिन नसकिरहेको अवस्था छ । तर माम्लिङमा भने कृषकहरुलाई उत्पादनमा लगाउनुका साथै उनीहरुको उत्पादित सामाग्रीको बजारको सुनिश्चितता भएका कारण कृषकहरुले ढुक्कले लगानी गर्ने गरेका छन् । यस कार्यको सिको अन्य स्थानीय तहले समेत गर्न जरुरी छ । यसरी बजारको सुनिश्चितता गर्न सके मात्र कृषकहरुलाई दीगो रुपमा उत्पादनमा लगाउन सकिन्छ ।