काठमाडौं, १७ साउन । नेकपा एमालेका नेता सूर्य थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पूर्ववत् जिम्मेवारीमा फर्कनुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने, “तीन महिनाभित्र टुंग्याउनुपर्ने महाभियोग प्रस्ताव ६ महिनासम्म पनि सभामुख बेखर हुनुहुन्छ । अग्नि सापकोटा निद्रामा मस्त हुनुहुन्छ । महाभियोग प्रस्ताव नटुंगिने हो भने चोलेन्द्रशमशेर राणा आफैं सर्वोच्च अदालतमा जानुपर्छ ।”
६ महिनासम्म न्यायपालिका कायममुकायमको भरमा रहन नमिल्ने पनि थापाले औंल्याए । थापाले थपे, “लोकतन्त्रमा यो ढंगको मनपरी, लाचारी, निर्लज्जता, नग्नता मैले देखेको वा पढेको छैन । यो ढंगको खेलबाड र बकवास गर्न मिल्दैन । विगतका कामकारबाहीका कारण चोलेन्द्रशमशेरका पक्षमा मानिस कम होलान् । तर यिनीहरुलाई इतिहासले सजाय दिनेछ ।”
दलका नेताहरुले गर्न सके कि सकेनन् भन्ने कुरा गत स्थानीय तहको निर्वाचनले देखाइसकेको पनि एमाले नेता थापाका जिकिर छ । उनले भने, “साउनमा स्वतन्त्र व्यक्तिहरुलाई हरिया चुरा लगाउन मन लागेको होला, व्रत पनि बसे हुन्छ । तर चुकेल्याङ बन्ने कोसिस कसैले नगरे हुन्छ ।”
उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रप्रति पनि कटाक्ष गरे । थापाले भने, “दलहरुले सकेनन् भन्ने राजेन्द्र लिङ्देनले के-के फूर्ति गर्नुभयो, ४ लाख भोट पनि पाउनुभएन । ठूलो पार्टी एमालेको साढे ३८ लाख, कांग्रेसको भोट एमालेभन्दा डेढ लाख कम छ । रवीन्द्र मिश्रले दलहरुले सकेनन् भन्दै हृदयेन्द्रलाई राजा भएको देख्न चाहन्छु भन्नुभयो । दुई दिनको पाहुनाले फाँफाँ फुँफुँ गर्नुको अर्थ छैन । उहाँले बीबीसीमै फर्केर आक्रामक प्रश्न गरे हुन्छ । कसैले दल खोल्दैमा आत्तिनु पर्ने अवस्था केही छैन ।”
गठबन्धनको तालमेलको मुरलीको धुन सुनेर जनता नलट्ठिने जिकिर पनि उनले गरे । थापाले भने, “एमालेसँग पनि मिल्न नसक्ने, आफूआफू पनि मिल्न नसक्ने अनि नेपाली कांग्रेसलाई दबाब दिन समाजवादी केन्द्र बनाउन खोजेका थिए क्यारे । त्यो चल्ला पनि कोरलिएन । भविष्यका तालमेलको मुरलीको धुन सुनेर लट्ठिने जनता छैनन् । उनीहरुलाई अस्तित्व रक्षाको छटपटी छ । कांग्रेसको भाइ बनून्, पार्टी नै प्रवेश गरुन्, वा एउटै जुवामा नारिऊन्, त्यो एमालेको दुःखको विषय होइन ।”Source Reportersnepal.com