काठमाण्डौंमा हैजाको जोखिम उच्च रहेको भन्दै सर्तकता अपनाउन विज्ञहरुले सुझाब दिएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारको क्रममा थप दुई जनामा सङक्रमण भेटिएको हो। काठमाण्डौंमा अहिलेसम्म चार जनामा हैजा पुष्टी भएको छ ।

अस्पतालको स्रोतका अनुसार सानेपामा पसल सञ्चालक गरेर बस्ने एक जना, सिदुपालचोकमा किसान पेशा गरेर बस्ने एक जना र बागबजारमा बस्ने दुई दिदिबहिनिमा सङक्रमण पुष्टि भएको जनाएको छ।

नेपाल जनस्वास्थ्य संघले हैजाबाट बच्नका लागि उमालेको वा क्लोरिन प्रयोग गरिएको खानेपानीको प्रयोग गर्ने, दिसापिसाब पछि र खाना खानुअघि अनिवार्य रुपमा साबन पानीले हात धुन, खाने कुरालाई सफा पानीले पखालेर मात्र खाने, बासी खानेकुरा नखाने, सेवा दिने सवै व्यक्तिले हात सफा गर्ने लगायतका व्यक्तिगत सरसफाई गर्न तथा कसैलाई झाडापखालाको लक्ष्ण देखिना साथ नजिकको स्वस्थ्य संस्था वा अस्पतालमा जान अनुरोध गरेको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत् इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा पुष्टि भएको क्षेत्रको नमुना सङकलनको कार्य भइरहेको जनाएको छ। बागबजार क्षेत्रको ढल, पानी, खाद्यलगायतको नमूना संकलन भएको छ। यसको नतिजा भने अझै आइसकेको छैन। बागबजारमा पुष्टि भएको हैजाका बिरामीले जार र धारा दुवैको पानी नउमालिकन खाने गरेको पाइएको छ। सानेपा र सिदुपालचोकमा हैजा पुष्टि भएको र सो ठाउँमा पानीको नमूना संकलन गर्न टोली खटिएको छ।

हैजा फैलन सक्ने सम्भावित कारक तत्वहरुको नियन्त्रण गर्न उपत्यकाको खानेपानी जार तथा बोतलका पानीहरुको नमूना परीक्षण गर्ने, होटल, रेस्टुरेन्ट तथा बजारमा पाइने खानेकुराको गुणस्तर परिक्षण गर्ने तथा उपत्यकाको फोहोरको व्यवस्थापन गर्न  जनस्वास्थ्य संघले आग्रह गरेको छ।