२७जेठ, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी बढाएको हो ।
पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टीतेल र डिजलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ ।अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टीतेल र डिजलको १६५ रुपैयाँ पुगेको छ ।
एलपी ग्याँस तथा हवाई इन्धनको मूल्य भने बढेको छैन ।मूल्य समायोजनपछि पनि पेट्रोलमा २४ रुपैयाँ ७० पैसा तथा डिजलमा १८ रुपैयाँ ०१ पैसा घाटा रहेको निगमको दाबी छ । मट्टीतेलमा भने प्रतिलिटर १७ रुपैयाँ ०१ पैसा नाफा छ ।