विराटनगर : नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नउठाउन निर्देशन दिएको छ ।पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार प्रदेश तथा जिल्ला समितिलाई पत्र लेख्दै उम्मेदवार सिफारिस गर्दा विधानविपरीत कुनै पनि प्रकारको रकम माग नगर्न निर्देशन दिएका हुन् ।कतिपय जिल्लाअन्तर्गतका मातहतका पार्टी निकायबाट स्थानीय तहको निर्वाचनमा विभिन्न पदका लागि उम्मेदवार सिफारिस गर्दा नगद रकम माग गरिएको भन्ने जानकारी प्राप्त भएकाले त्यस्तो अवैधानिक कार्य नगर्न निर्देशन गरिएको पत्रमा उल्लेख गरिएको छ ।पार्टीको क्रियाशिल सदस्य तथा लाभको पदमा रहेका पार्टी सदस्यले पार्टीलाई बुझाउनुपर्ने सदस्यता शुल्क तथा सहयोग रकम लेबी बाहेक अन्य कुनै पनि रकम उठाउन नमिल्ने स्पष्ट व्यवस्था भए पनि कतिपय ठाउँमा त्यस्तो रकम उठाइएको भन्दै कांग्रेसको केन्द्रीय समितिले त्यस्तो कार्य रोक्न भनेको छ ।मोरङलगायत केही जिल्ला र वडा समितिले उम्मेदवार सिफारिस शुल्क भन्दै रकम उठाउँदै आएको बताइएको छ । कपितपय नेताहरूले टिकट दिलाइदिने भन्दै उम्मेदवारका आकांक्षीहरूबाट मोटो रकम असुली गर्ने गरेका विवरण विगतमा पनि आएका थिए ।

                      गठबन्धन नगर्न दबाब

नेपाली कांग्रेस मोरङ मातहतका स्थानीय तह, प्रदेशसभा र संघीय क्षेत्रीय समितिका अधिकांश नेताहरूले चुनावमा गठबन्धन नगर्न नेतृत्वलाई दबाब दिएका छन् ।नेपाली कांग्रेस मोरङले शनिबार विराटनगरमा बोलाएको छलफलमा सहभागी अधिकांश पालिका, प्रदेशसभा र संघीय क्षेत्रीय समितिका सभापतिहरूले मोरङको हकमा अन्य पार्टीसँग गठबन्धन नगरी एक्लै निर्वाचनमा जाँदा राम्रो हुने सुझाव दिएको बताइएको छ ।‘धेरै जसो साथीहरूबाट गठबन्धन नगरौं भन्ने सुझाव आएको छ, केही साथीहरूले आवश्यकताअनुसार तालमेल गरौं भनेका छन्’, छलफलमा भएको विवरण सुनाउँदै कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले भने, ‘सरकारमा गठबन्धन गरौं, तर चुनावमा नगरौं भन्ने मत बढी छ ।’माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीलगायतका गठबन्धनका दलले भनेजस्तो प्याकेजमै गठबन्धन गर्ने अधिकार आफूहरूलाई नभएको उनले बताए । ‘हामीलाई स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सकिने भनिएको छ । सत्ता गठबन्धनका दलहरूसँगको छलफलमा पनि हामीले यही कुरा भनेका छौं,’ लिम्बूले भने ।उद्घोस  दैनिकबाट सवार