इटहरी । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएपछि इटहरीमा महेन्द्र राजमार्गमा प्रदर्शन गरिएकोछ । इटहरी बरगाछीका साढे ३ वर्षिय सन्देश शाहको मृत्यु इटहरीको एपेक्स अस्पतालको लापरवाहीले भएको आरोप लगाउँदै पीडितले अस्पतालअगाडी प्रदर्शन गरेका हुन् ।
प्रदर्शनपछि प्रहरी परिचालन गरिएको छ । मृतकका आफन्तले बच्चालाई धेरै पटक सिरिन्ज लगाइएपछि मृत्यु भएको आरोप लगाएका छन् । बुधबार बिहानबाट बान्ता भएपछि सन्देशलाई एपेक्स हस्पिटल ल्याइएको थियो । डाक्टरले फुड पोइजनिङ्ग भएको भन्दै उपचार सुरु गरिएको बताएका थिए । तर बिहिबार बिहानै सन्देशको मृत्यु भएपछि परिवार विरोधमा उत्रिएको हो । बच्चाले बान्ता गरेपछि नर्सले डबल डोज सुई दिएपछि बच्चाको मृत्यु भएको मृतकका काका कमल शाहले बताए ।
बच्चाको अवस्था थप जटिल बनेपछि हस्पिटलले राती २ बजे सन्देशलाई धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लान भनेका थिए । धरान लाने क्रममा बाटोमै बच्चाको मृत्यु भएको परिवारले जानकारी दिएको छ ।
अस्पतालले भने लापरवाही नभएको जनाएको छ । बाहिरबाट उपचार गरेर बच्चाको अवस्था झन जटिल भएपछि थप उपचारका लागि एपेक्स हस्पिटल ल्याएको जनाएको छ । डाक्टरले सकेको उपचार गरेर नसकेपछि प्रतिष्ठान पठाएको अस्पतालले जनाएको छ ।