नेपालले एसीसी प्रियमियर कपमा विजयी सुरुआत गरेको छ। नेपालले बहराइनविरुद्ध सात विकेटको जित निकालेको हो। 

सोमबार मलेसियाको यूकेएम यूएसडी ओभलमा बहराइनले प्रस्तुत गरेको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।  

नेपालका अर्जुन कुमालले अविजित ३६, रोहितकुमार पौडेलले अविजित १९, आसिफ शेखले १८ र देव खनालले १० रन बनाए। बहराइनका इमरान जाबेद अन्वरले दुई विकेट लिए। 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमै समेटिएको थियो।

बहराइनका फैज अहमदले १५, मोहम्मद वासिमले १३ र अली दाउदले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए। १० ओभर बलिङ गरेका उनले चार मेडनसहित १४ रन खर्चिए।

यसैगरी, ललितनारायण राजवंशीले तीन र करण केसीले दुई विकेट लिए। अब नेपालले बिहीबार घरेलु टोली मलेसियाको सामना गर्नेछ।