विराटनगरको सडकमा गम्भीर अवस्थामा भेटिएका एक जना पुरुषको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–९ स्थित चुलाचुली मार्गमा सोमबार बिहान करिब ७ बजेतिर एक जना पुरुष बिरामी तथा गम्भीर अवस्थामा सडकमा रहेको जानकारी प्रहरीले प्राप्त गरेको थियो।
जानकारी पाएलगत्तै सीआरभी घोघा पुलबाट असई रामकुमार यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनको उद्धार गरेको थियो। प्रहरीले उपचारका लागि ती पुरुषलाई कोशी अस्पताल पुर्याएको थियो।
तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको पहिचान खुल्न सकेको छैन।
पहाडे समुदायका जस्तो देखिने अन्दाजी ४५ वर्षीय पुरुषको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। उनको शव हाल कोशी अस्पतालमै राखिएको छ।
घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।












