रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्ट गोरखामा मृत भेटिएका छन्। भदौ १० मा आएको बाढीमा परेका विष्टको शव त्रिशूली नदी किनारमा भेटिएको हो।
पश्चिमाञ्चल क्षेत्री अस्पताल पोखरामा पोस्टमार्टमपछि उनका परिवारले शव बुझेका छन्। ३४ वर्षीय विष्ट पाल्पाको तानसेन नगरपालिका–१० का स्थानीय हुन्।
गोरखामा भेटिएको ५८ वटा शवमध्ये अहिलेसम्म विष्ट सहित तीनजनाको मात्र सनाखत भएको छ। इलामको सन्दकपुर गाउँपालिका–३ घर भएर काठमाडौँ बस्ने ३८ वर्षीय दीपक भन्ने दिवासनन्द सुवेदी र गोरखाको पालुङटार नगरपालिका–६ घर भएका यम बहादुर थापाको पनि पहिचान खुलेको छ। उनीहरूको पनि पोखरामा पोस्टमार्टम गरेपछि शव परिवारलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
शव व्यवस्थापनको अरु विकल्प नभएपछि प्रहरीले २९ वटा शवहरू गोरखाको शहिद लखन गाउँपालिकाको बुंकोट घाटमा गाडेर व्यवस्थापन गरेको छ। पहिचान भएका तथा बेवारिसे शव व्यवस्थापन सम्बन्धी निर्देशिका अनुसार शव माटोमुनि गाडेर व्यवस्थापन गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए।












