देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण जनजीवन प्रभावित भइरहेका बेला कलाकारहरू पनि सहयोगका लागि मैदानमा उत्रन थालेका छन्। यसै क्रममा चर्चित गायक दुर्गेश थापा र उनको टोली नुवाकोटको विदुर नगरपालिकामा पुगेर रसुवा-भोटेकोशी बाढी प्रभावितहरूलाई खान खुवाउन सक्रिय रहेको छ।
गायक थापा विगत दुई दिनदेखि विदुर नगरपालिका-८, कोलनी क्षेत्रमा रहेर बाढी पीडितहरूका लागि स्थानीय बासिन्दाहरूसँग मिलेर खाना पकाउने र प्रभावित परिवारहरूलाई खुवाउने कार्य गरिरहेका छन्। उनले सामाजिक सञ्जालमा खाना खुवाउँदै गरेको र बनाउँदै गरेको केही तस्बिर सेयर गर्दै विपत्तिको यस कठिन घडीमा सानो सहयोग पनि अर्थपूर्ण हुने बताएका छन्।
उनले लेखेका छन्– ‘यतिबेला कसैलाई ठुलो सहयोग गर्न नसके पनि, भोक लागेको बेला एक छाक खाना खुवाउन सक्नु पनि ठुलो सेवा हो भन्ने लाग्छ। दुःख र विपत्तिको समयमा एक–अर्काको साथ बन्नु नै मानवता हो।’












