तमोर नदीमा बेलब्रिज निर्माण सम्पन्न गरिएको छ। यातायात सञ्चालन गर्नका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा तमोर इनर्जी प्रालिले बेल ब्रिज निर्माण गरेको हो।
फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोक र वडा ६ लेलेप जोड्ने तमोर नदीमा मोटर गुड्ने (मोटरेवल) बेलब्रिज निर्माण गरिएको हो। कुल सात करोड ८५ लाख १९ हजार १७६ रुपियाँको लागतमा बेलब्रिज निर्माण गरिएको माथिल्लो तमोर जलविद्युत आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार बेलब्रिजको लम्बाई ५४.८ मिटर र चौडाइ ४.५ मिटर रहेको छ। उक्त पुल निर्माण भएसँगै फक्ताङ्लुङको वडा ४ इखाबु, वडा ६ लेलेप र वडा ७ ओलाङ्चुङगोलासम्म यातायात सञ्चालनका लागि सहज भएको गाउँपालिकाले जनाएको छ।
तमोर इनर्जी प्रालिको प्रवर्धनमा २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण भइरहेको छ।












