चीनले नेपालका लागि पठाएको आपत्कालीन राहत सामग्री बोकेका चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाका दुई वटा वाई–२० ठूला ढुवानी विमान आइतबार काठमाडौं आइपुगेका छन्।

आइतबार बिहान करिब ७ बजे ती दुई विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानमा राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ र उद्धारका लागि आवश्यक उपकरणसमेत ल्याइएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ। 

दूतावासका अनुसार राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र संघीय संसद्का प्रतिनिधिसभा सदस्य धर्म केसी सहभागी भएका थिए। उनीहरूले चिनियाँ उद्धार विशेषज्ञलाई स्वागतसमेत गरेका थिए।

दुवै ढुवानी विमान चीनको छेन्दुस्थित शुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए। करिब तीन घण्टाको उडानपछि ती विमान काठमाडौं आइपुगेका हुन्।

विमानमा पाल, कम्बल, स्लीपिङ ब्याग, हार्डट्याक (दीर्घकालीन रूपमा राख्न मिल्ने खाद्य सामग्री) र प्राथमिक उपचारका सामग्रीसहित आपत्कालीन राहतका १३ हजार २०० थान सामग्री ल्याइएको छ।