प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) रसुवाको भोटेकोसीमा आएको बाढीबाट भएको क्षति र खोज उद्धार कार्यको निरीक्षणका लागि नुवाकोटको विदुर पुगेका छन्।
प्रधानमन्त्री बालेनले विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ‘ब्रिफिङ’ सकेर अहिले घाइतेहरूलाई भेटिरहेका छन्। ‘‘प्रधानमन्त्रीज्यू अहिले बैठक सकेर घाइतेलाई भेटिरहनुभएको छ,’’ उपप्रमुख प्रभा बोगटीले भनिन्।
प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ‘ब्रिफिङ’मा प्रधानमन्त्री शाहलाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र जिल्ला प्रहरी प्रमुख विपीन रेग्मीले बाढीबाट भएको मानवीय र भौतिक क्षतिको अवस्थाबारे जानकारी गराएका थिए।
प्रधानमन्त्री शाह बिहीबार बिहान सडकमार्ग भएर बाढीबाट भएको क्षति र खोज उद्धार कार्यको निरीक्षणका लागि नुवाकोटतर्फ लागेका थिए। प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिना, वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल पनि रहेका छन्।












