नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको समयमा नेपालका सबै राजनीतिक दल सरकारसँगै रहेको बताएका छन्।
बिहीबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विपत्तिको समयमा नेपालका राजनीतिक दलहरू एक ठाउँमा उभिएर काम गर्ने परम्परा रहेको उल्लेख गरेका हुन्।
विपत्तिको घडीमा राज्यका सबै संयन्त्रसँगै राजनीतिक दल, निजी क्षेत्र तथा सामाजिक संघ-संस्थालाई समेत परिचालन गर्नुपर्ने थापाको भनाइ छ। बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र तत्काल राहत पुर्याउन सबै पक्ष जुट्नुपर्नेमा उनले जोड दिएका छन्।
सर्वदलीय बैठकमा गृहमन्त्रीले विपद् प्रभावित क्षेत्रमा पार्टीका कार्यकर्तालाई परिचालन गर्न आग्रह गरेको जानकारी दिँदै सभापति थापाले राजनीतिक दलका कार्यकर्ताहरू सडक सफा गर्ने तथा खोज र उद्धार कार्यमा सहभागी हुन तयार रहेको बताए।
‘सरकारले गरेको आग्रहअनुसार नेपाली कांग्रेसले आफ्ना विपद् व्यवस्थापन संरचनामार्फत कार्यकर्ता परिचालन गर्नेछ’, थापाले भने, ‘विपत्तिमा सरकारसँग उपलब्ध नियमित स्रोत साधनबाट मात्रै उद्धार तथा राहत सम्भव नहुने भएकाले निजी क्षेत्र, राजनीतिक दल र सामाजिक संस्था सबैलाई राज्यकै शक्ति मानेर परिचालित गरिनुपर्छ।’
यस्तो बेला राज्यले गैरसरकारी क्षेत्रलाई पनि आफ्नै ठानेर एकीकृत रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ। थापाले सबै सहयोगीहरूलाई राज्यले तोकेअनुसार एकद्वार प्रणालीमार्फत आवश्यक सहयोग गर्न आग्रह गरेका छन्। नेपाली कांग्रेसले पनि बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्थापनका लागि सरकारी कोषमा आवश्यक रकम सहयोग गर्ने जानकारी उनले दिएका छन्।












